पानी खान नदिएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले गरे आन्दोलन

दैलेख जेठ १३ गते ।
दैलेख सदरमुकामको मुख्य केन्द्र मानिएको त्रिभुवन मा.बि. क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले खानेपानीको प्रवन्ध नभएको, सौचालय र बत्तीको राम्रो व्यवस्था नभएको भन्दै १ घण्टा आन्दोलन गरेका छन् ।
क्वारेन्टाइनमा रहेका १ सय ३३ जना मध्ये केहीले खानेपानी नपाएको र बत्तीको व्यवस्था नभएको भन्दै १ घण्टासम्म नाराजुलस समेत गरेका छन् । मङ्गलवार साँझ ८ बजेदेखि ९ बजेसम्म पानी र बत्तीको व्यवस्था गर भन्दै स्थानीय र केन्द्र सरकार विरुद्ध चर्को नाराबाजी गरेका हुन् । नाराबाजी सँगै बिद्यालयका झ्याल र ढोका समेत तोडफोड गरेको आवाज सडकमै सुन्न सकिन्थ्यो ।
भारतबाट दैलेख जिल्ला भित्रने व्यक्तिहरूको सङ्ख्या दैनिक हजारौँ हुन थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा निकै चुनौती उत्पन्न भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली क्वारेन्टाइन स्थलभित्र प्रवेश गरेर सम्झाई बुझाई गरेपछि आन्दोलन रोकिएको हो । नेपाल प्रहरीको गाडीमा १३ कार्टुन मिनिरल वाटर लगेर दिएपछि आन्दोलन शान्त भएको छ ।
नाम मात्राका क्वारेन्टाइन बनाएर भेडाबाख्रा झैँ नागरिकहरुलाई कोचेर राख्ने कामले सङ्क्रमण झनै फैलन सक्ने र स्थिति भयावह हुन सक्ने भन्दै सबै स्थानीय तह र सुरक्षा निकायहरूले सतर्कता अपनाउनुपर्ने मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दिर्घराज अधिकारीको भनाई छ ।
भारतबाट दैलेख सदरमुकाम र विभिन्न पालिकामा भित्रनेहरुको सङ्ख्या दैनिक हजारौँ पुग्न थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा निकै ठुलो चुनौती देखिएको छ । आफ्ना नागरिकहरू यती भारतबाट आउन सक्छन् भनेर आकलन नगरेका कारण स्थानीय सरकारहरु अहिले समस्यामा परेका हुन् ।
११ पालिकाभरी एक हजार मात्र क्वारेन्टाइन निर्माण गरेका स्थानीय सरकारहरु अहिले धमाधम क्वारेन्टाइन निर्माणमा जुटेका छन् । भारतबाट आउनेहरुको सङ्ख्या ७ हजार पुगेसँगै करिब ५ हजार बढीलाई क्वारेन्टाइनमा राखिएको पालिकाहरुले जानकारी दिएका छन् ।
फोटो ः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार